
नवलपरासी— नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१ का टंकप्रसाद अधिकारीको घरसँगै गोठ छन् । त्यहीँ गोठमा ३० भन्दा बढी गाई र १७ भन्दा बढी भैँसी छन् ।
१३ साउदी अरब बसेर स्वदेश फर्किएका अधिकारीको दैनिकी निकै व्यस्त छ । उनी अहिले आफ्नै घरमा पौरख गरिरहेका छन् ।
‘दुई चार पैसा कमाउन १३ वर्ष विदेश बसियो, आफ्नै गाउँमा केही गर्ने इच्छा बाँकी नै थियो’, उनले भने, ‘पशुपालन गरेर अहिले आफ्नै माटोमा इच्छा पूरा गरिरहेको छु ।’
‘श्रुतिका पशु तथा कृषि फार्म’ स्थापना गरेर पशुपालन व्यवसाय सुरु गरेका अधिकारीले आफ्नो परिवारसँगै केही स्थानीलाई रोजगारीसमेत दिएका छन् ।
सुरुआतमा थोरै पशुपालनबाट सुरु गरेको गोठमा अहिले ५० भन्दा बढी गाईभैँसी रहेका छन् । वित्तीय संस्था, साथीभाइको सरसापटबाट विस्तार गर्दै अहिले व्यवसायलाई दिगोरूपमा सञ्चालन गर्न सफल भएको अधिकारीले बताए ।
व्यवसाय सञ्चालन पूर्व उत्पादित दूधको बजार व्यवस्थापनलाई चुनौती मानेका अधिकारीले फार्ममा उत्पादन हुने सबै दूध अहिले घरबाट नै बिक्री हुने गरेको बताए ।
उनले भने,‘स्थानीय छिमेकीदेखि व्यवसायी दूध खरिदको लागि गोठसम्म नै आउने गर्नुभएको छ, बजारको कुनै समस्या नै छैन ।’
फार्ममा मिल्कएनलाइजर, मिनि टेलर, मिल्क क्यानल, घाँस काट्ने मेसिन गायतका कृषि औजार अनुदानमा प्राप्त भएपछि व्यवसाय सञ्चालन गर्न सहज भएको छ ।