News Griha :: न्यूजगृह
खराब मौसमका कारण लामीडाँडा विमानस्थलमा हेलिकोप्टरको आकस्मिक अवतरण

खोटाङ— काठमाडौंबाट सोलुखुम्बुका लागि उडान भरेका सात हेलिकोप्टरले खोटाङको लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरेका छन् । 

सोलुखुम्बुको लुक्लाका लागि उडेका हेलिकोप्टरको खराब मौसमका कारण आज बिहान लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो । 

खराब मौसमका कारण बिहान आठ बजेदेखि दिउँसो एक बजेसम्म सात हेलिकोप्टरले आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवम् प्रहरी निरीक्षक टीकाराम बरालले जानकारी दिए । मौसममा सुधार आएपछि सबै हेलिकोप्टर गन्तव्यतर्फ लागेका छन् ।

पर्यटक बोकेका हेलिकोप्टर लुक्लामा अवतरण हुने अवस्था नभएपछि फर्किएर लामीडाँडामा अवतरण गरेको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका वडा अध्यक्ष वीरेन्द्र मगरले बताए ।

वि.सं. २०७६ देखि उडान बन्द रहेको लामीडाँडा विमानस्थल पछिल्लो समय  हेलिकोप्टरको आकस्मिक अवतरणका लागि प्रयोग हुँदै आएको छ ।

लामीडाँडा विमानस्थलको धावनमार्ग कालोपत्र गरिए पनि सञ्चालनमा आउन सकेको छैन । जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने भक्तजन तथा पर्यटकका साथै ओखलढुङ्गा र सोलुखुम्बुका स्थानीयलाई समेत सेवा दिने उद्देश्यले वि.संं. २०२६ मा विमानस्थल निर्माण गरिएको थियो । 

त्यसको दुई वर्षपछि वि.संं. २०२८ बाट कच्ची अवस्थामै नियमित उडान सञ्चालनमा ल्याएको विमानस्थलमा हाल कालोपत्रे भए पनि सञ्चालनमा आउन सकेको छैन ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १६:४७
Weather Update