News Griha :: न्यूजगृह
प्रचण्डले लगाउने घडीको मूल्य ६५ लाखदेखि २ करोडसम्मको : सांसद शर्मा

काठमाडौं— सांसद डा.सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगाउने घडीको मूल्य ६५ लाखदेखि २ करोड सम्मको रहेको बताउँदै त्यसलाई लिलामीमा राखेर दुर्गम क्षेत्रको शिक्षामा खर्च गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै शर्माले सो कुरा बताएका हुन् ।

देशको प्रधानमन्त्री करोडौँका घडी लगाएर हिँड्ने तर शिक्षक हात्तीछाप चप्पल लगाएर सडकमा आउनुपर्ने अवस्था रहेको शर्माले बताए । ‘प्रचण्डले लगाउने घडी ६५ लाखदेखि २ करोडसम्मको र उहाँकी छोरीले बोक्ने गुची ब्यागलाई लिलामीमा राखेर नेपालको दूरदराजको स्कुलहरूमा खर्च गर्नुपर्छ । जहाँ अहिले टिनका छाना प्वाल परेका छन्, बच्चाहरूले पढ्न पाएका छैनन्’,उनले भने ।

उनले प्रचण्ड कुनै बेला शिक्षक नै भएको स्मरण गराए । उनले भने,‘एउटा शिक्षक जो आज प्रधानमन्त्री बन्नुभएको छ,एउटा शिक्षक जो आज राज्यको नेतृत्व गर्दै हुनुहुन्छ,अर्को सँगैको साथी शिक्षक आफ्नो जागिर,जोगाउन र गाँस, बाँस कपालको लागि खागीको झोला भिरेर हात्तीछाप चप्पल लगाएर सडकमा छ ।’

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १५:१८
Weather Update