News Griha :: न्यूजगृह
सांसदको प्रश्न— गरिबको दसैँ कसरी टर्छ ? 

काठमाडौं— सांसदले चाडपर्व समय नजिकिँदै जाँदा बजारमा बढ्दो महंगी र कालोबजारीलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा सांसदले बजारमा खाद्य तथा गैरखाद्य वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद रघुजी पन्तले बजारमा व्याप्त महंगी नियन्त्रणका लागि माग गरे । ‘गरिबको दसैँ यसपालि कसरी टर्छ ?’,उनले भने,‘खल्तीमा तलब हालेर हिँड्यो बजार, चामलको बोराले नाघ्यो तीन हजार, रहर दाल किलोको दुई सय ५०, बजार भाउ सुन्दा गुम्छ होसहवास ।’

सांसद भगवती चौधरीले चाडपर्वमा कालोबजारी र महंगीको अनुगमन र मूल्याङ्कन  तदारुकता गर्न ध्यानाकर्षण गराइन् । उनले  मिटरब्याज पीडितका लागि न्याय सम्पादनमा समेत सरकारको ध्यानाकर्षण गराए ।

सांसद माधव सापकोटाले सांस्कृतिक पर्वहरु नजिकिँदै गर्दा बजार अनुगमनलाई चुस्त बनाउन माग गरे । उनले बाढीपहिरोले  बिग्रेको सडकको विस्तार मर्मतसम्भार गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले निर्माण व्यवसायीलाई बाँकी रहेको भुक्तानी तत्काल गर्न बताए ।

सांसद रामहरि खतिवडाले चाडपर्वका समयमा सुरक्षित यात्राका लागि सडक मर्मतसम्भार गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १४:०४
Weather Update