News Griha :: न्यूजगृह
 माडीमा जंगली हात्तीले दुःख दिन थाल्यो  

चितवन— चितवनको माडी क्षेत्रमा जंगली हात्तीले दुःख दिन थालेका छन् । माडी नगरपालिका–१ क्षेत्रमा निकुञ्जबाट निस्किएका दुई वटा हात्तीले स्थानीयलाई दुःख दिन थालेका हुन् ।

विगत तीन दिनदेखि हात्तीको आतंकले स्थानीय रातभरि जाग्राम बस्नुपरेको पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटाले बताए । दुई ट्रयाक्टर, एउटा जीपलगायत साधनको सहायताले हात्ती लखेट्ने काम भइरहेको उनले जानकारी दिए ।

सापकोटाले भने, ‘विगत एक सातादेखि माडी क्षेत्रमा जंगली हात्तीको आतंक छ । यसलाई नियन्त्रणमा लिन सकिएको छैन ।’ असोज १४ गते हात्तीले एक जनालाई आक्रमण गरेको र उनको उपचार भइरहेको उनले बताए ।

धान पसाउने समयमा हात्तीको आतंकले माडीवासी त्रसित छन् । हात्ती नियन्त्रणका लागि निकुञ्जले सेनाका अधिकृतको नेतृत्वमा टोली नै खटाएको छ ।

टोली पठाए पनि स्थान परिवर्तन गर्दै निस्कने गर्दा धानबालीमा क्षति पुर्‍याएको सापकोटाले बताए । 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १०:०९
Weather Update