News Griha :: न्यूजगृह
एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा विजयी

काठमाडौं— नेकपा एमाले गण्डकी अध्यक्षमा म्यादीका नवराज शर्मा विजयी भएका छन् । उनी उपमहासचिव पृथ्वीसुब्बा गुरूङ पक्षका हुन् ।

शर्माले ५ सय ३१ मत प्राप्त गरे भने प्रतिस्पर्धी मायानाथ अधिकारीले ३ सय ६५ ल्याएको मुख्य निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले बताए । अधिकारी स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षका हुन् ।

उपाध्यक्षमा मीनबहादुर गुरूङले ५ सय ३४ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिस्पर्धी बाबुराम बिश्वकर्माले  ३ सय ६२ मत प्राप्त गरे । सचिवमा धनञ्जय दवाडी ५ सय २० मत ल्याएर दोहोरिँदा उनका प्रतिस्पर्धी रश्मी आचार्यले ३ सय ७६ मत ल्याए ।  

उपसचिवमा दामबहादुर बिश्वकर्माले ४९९ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी सन्तोष रावलले ३ सय ९७ मत प्राप्त गरे । महिला उपसचिवमा मञ्जु अधिकारीले ५ सय ३१ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी मीना गुरूङले ३ सय ६५ मत प्राप्त गरिन् ।

कुल ९ सय ७ मतदातामध्ये ८ सय ९६ मत खसेको थियो । १ सय ६५ पदका लागि भएको निर्वाचनमा २ सय ७७ जनाको उम्मेदवार प्रतिस्पर्धामा थिए । जसमध्ये ३१ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।

एमाले गण्डकीमा उपमहाचिव पृथ्वीसुब्बा गुरूङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको छुट्टाछुट्टै प्यानल थियो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाए उम्मेदवारी रद्द गर्नेसम्मको चेतावनी दिएका थिए । त्यसका बाबजुद उनी पक्षीय नेताहरूले नै प्यानल नै बनाएर उम्मेदवार मैदानमा उतारेका थिए ।

एमाले गण्डकीमा एमालेका पदाधिकारी तहका नेता नै विभाजित देखिएका थिए । महासचिव शंकर पोखरेलको साथ स्थायी कमिटी सदस्य खगराज अधिकारीले बनाएको केन्द्रीय सदस्य मायानाथ अधिकारीको समूहलाई थियो ।

उपमहासचिव गुरूङको पक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरू थिए । महासचिव पोखरेल खगराजको पक्षमा उभिँदा प्रदेश अध्यक्षलगायत पदाधिकारीमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिए पनि शर्माले अधिकारीलाई १ सय ६६ मतले पाखा लगाए । पदाधिकारीमा उपमहाचिव गुरूङको सेट नै निर्वाचित भयो ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ०६:१५
Weather Update