
काठमाडौं— पुल्चोक इन्जिनियरिङ क्याम्पसका निमित्त प्रमुखसहित प्राज्ञिक र प्रशासनिक सबै विभागका प्रमुखले सामूहिक राजीनामा दिएका छन् ।
निमित्त क्याम्पस प्रमुख लोकनाथ रेग्मीको अध्यक्षतामा बसेको सहायक क्याम्पस प्रमुखहरू, विभागीय प्रमुख र उपप्रमुख, एमएस्सी कोर्डिनेटर, निर्देशक र प्रशासन प्रमुखले सामूहिक राजीनामा दिने निर्णय गरेको हो ।
सो निर्णय अनुसार उनीहरु सबैले निमित्त क्याम्पस प्रमुख रेग्मीमार्फत इन्जिनियरिङ अध्ययन संस्थानको डिन कार्यालयमा राजीनामा बुझाएका निमित्त क्याम्पस प्रमुख रेग्मीले बताए ।
‘हामी सामूहिक रुपमा छलफल गर्दा अहिलेको अवस्थामा हामी काम गर्न सक्दैनौँ भन्ने निष्कर्ष निकालेर राजीनामा बुझाएका हौं’, उनले भने । इन्जिनियरिङ अध्ययन संस्थानका डिन र सहायक डिनहरूलाई सत्तारुढ दलका विद्यार्थी प्रतिनिधिले दबाबमा पारेर पुरानै शुल्कमा इन्जिनियरिङको स्नातक तह अध्ययन गराउन प्रवेश परीक्षा सञ्चालनको सूचना जारी गर्न लगाएको प्राध्यापकहरूले बताएका छन् ।
बुधबार जारी सूचनामा यस्ता क्रियाकलापले इन्जिनियरिङ अध्ययन संस्थानको भविष्यमाथि नै संकट पर्ने ठहर गर्दै अब हुने वार्ताको औचित्य समाप्त भएकाले राजीनामा दिने निर्णय भएको उल्लेख छ । संस्थानले तीन लाख १८ हजार रहेको इन्जिनियरिङको स्नातक तह अध्ययनको शुल्क यो वर्षदेखि बढाएर ७ बढाएर लाख ७५ हजार पुर्याएपछि विवाद सुरु भएको थियो ।
तर त्रिवि र विद्यार्थी सङ्गठनहरूको वार्तामा बढेको शुल्क फिर्ता गर्ने र शुल्क निर्धारण गर्न समिति गठन गर्ने सहमति भएको थियो । समितिले इन्जिनियरिङ अध्ययनका लागि ५ लाख ५४ हजार नयाँ शुल्क सिफारिस गरेको थियो । तर समितिले सिफारिस गरेको शुल्क कायम गर्न विद्यार्थी सङ्गठनहरू तयार नभएपछि डिन कार्यालयले नयाँ शुल्क निर्णय गर्न सकेन ।
तर सोमबार राति एकाएक पुरानै शुल्क तीन लाख १८ हजार अनुसार भर्ना लिने र असोज २२ गतेदेखि प्रवेश परीक्षा सञ्चालन गर्ने उल्लेख भएको इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्रा.डा.शशीधर राम जोशीको हस्ताक्षर सहितको विज्ञप्ति जारी भएको थियो ।













