काठमाडौं— सहकारीमा बचतकर्ताको पैसा हिनामिना गर्ने अध्यक्ष पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ललितपुरको सातदोबाटोमा कार्यलय रहेको देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रवीन्द्र चौलागाईँलाई मंगलबार पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार चौलागाईँले निक्षेपकर्ताहरूको पैसा हिनामिना गरेका हुन् । एसपी अधिकारीका अनुसार चौलागाईँले ४ करोड ४९ लाख ९९ हजार ४ सय ४३ रुपैयाँ ठगी गरेका छन् । उनले निक्षेपकर्ताहरूलाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएका थिए ।
मासिक/त्रैमासिक/वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरूले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिई पटकपटक ताकेता गर्दा पनि उनले फिर्ता दिन आनाकानी गर्दै आएका थिए ।
आफूहरूको पैसा फिर्ता नभएपछि बचतकर्ताले प्रहरीमा चौलागाईँविरुद्ध जाहेरी दिएका थिए । ३९ वर्षीय चौलागाईं काभ्रेको चौंरी देउराली गाउँपालिका वडा नम्बर ६ का स्थायी बासिन्दा हुन् ।













