
काठमाडौं— क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन् । नेपाल प्रहरीका जवान पदबाट उनलाई सहायक हवल्दारमा बढुवा गरिएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले बताए ।
चीनमा १९ औं एसियाली खेलकुदमा रेकर्ड बनाएको भन्दै प्रहरी प्रमुख बसन्त कुँवरले ऐरीको विशेष बढुवा गरेका हुन् ।
गत असोज १० गते एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले मंगोलियाविरूद्ध कीर्तिमानको ओइरो लगाएको थियो। उक्त खेलमा दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका थिए ।

उनले १२ बलको विश्व कीर्तिमान पनि भंग गरेका थिए । यो कीर्तिमान भारतका युवराज सिंहको नाममा थियो । दीपेन्द्रले १९ औं ओभरका पछिल्ला पाँच बलमा ५ छक्का हिर्काएका थिए । अर्को ओभरको दोस्रो बलमा पनि छक्का हिर्काएपछि उनले ६ बलमा ६ छक्का प्रहार गर्ने अर्को विश्व कीर्तिमान बनाएका थिए ।













