
काठमाडौं— नेकपा एमालेका सचेतक महेश बर्तौलाले संक्रमणकालीन न्यायको विषय टुङ्ग्याउन नदिन राजनीतिक चलखेल हुन थालेको भन्दै सचेत गराएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा सचेतक बर्तौलाले १७ वर्षदखि थाती रहेको शान्ति प्रक्रिया र संक्रकणकालीन न्यायको विषयलाई टुङ्ग्याउनका लागि उपयुक्त विधेयक निर्माण गर्ने काम गरिरहेको बेला राजनीतिक रुपबाट वातावरण बिगार्ने प्रयास भइरहेको भन्दै त्यसतर्फ सचेत हुन सरकारलाई आग्रह गरे ।
दल विशेषले घोषणा गरेको जनयुद्ध दिवस मनाउने निर्णयलाई एमालेले बेठिक भनेको र त्यसलाई सबैले मान्नैपर्ने भन्ने नहुने भएकैले एमालेले विरोध गरेको बताए ।
तर, १७ वर्षदेखिको संक्रकणकालीन न्यायको विषयलाई टुङ्ग्याउनका लागि उपयुक्त विधेयक निर्माण गर्ने काम गरिरहेको बेला सत्तारुढ राजनीतिक दलबाट उक्त वातावरण विथोल्ने विभिन्न प्रयास भइरहेको आरोप लगाउँदै उनले आपत्ति जनाए ।
बर्तौलाले भने, ‘हामी अहिले १७ वर्षदेखि थाती रहेको एउटा गभीर तर नटुङ्गिएको संक्रकणकालीन न्यायको विषयलाई टुङ्गोमा पुर्याउन मेहेनतका साथ उपयुक्त विधेयक, कानुन निर्माण गर्ने काम गरिहेका छौं । संक्रकणकालीन न्यायको विषयलाई टुङ्गोमा पुर्याउनका लागि हामी एउटा वातावरण बनाएर काम गरिरहेका छौं । त्यसलाई सगजोल्न प्रयत्न गरियो । राजनीतिक वातावरण बिगार्नका लागि गरियो यसप्रति खेद प्रकट गर्दैै दुःख व्यक्त गर्न चाहन्छु ।’
उनले विधेयक निर्माण कार्यमा अवरोध हुने गरी वातावरण बिगार्न भूमिका नखेल्न सरकारलाई आग्रह गरे ।