
काठमाडौं— प्रतिनिधि सभाका सांसदले धार्मिक र सामाजिक सद्भभावमा खलल हुन नदिन समाजका सबै पक्ष सजग हुनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा उनीहरुले समाजमा आशान्ति चाहने केही तत्वले सामाजिक सद्भाव भड्काउने प्रयत्न गरिरहेको उल्लेख गर्दै त्यसतर्फ सरकार र सबै सचेत हुनुपर्ने बताए ।
सांसद ज्ञानबहादुर शाहीले सामाजिक सद्भाव कायम राख्नका लागि सरकारसँगै सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
उनले बजारमा उपभोग्य वस्तुमा महंगी भएको उल्लेख गर्दै मूल्यवृद्धि रोक्नका लागि सरकारले ध्यान दिनुपर्ने बताए ।
सांसद प्रदीप यादवले समाजमा अनेक थरी अफवाह फैलाउने काम भएको सन्दर्भमा धार्मिक सद्भाव कायम राख्न सम्पूर्ण राजनीतिक दल एकतावद्ध हुुनुपर्नेमा जोड दिए ।
सांसद भानुभक्त जोशीले बझाङमा भूकम्पका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उपचार र प्रभावितको उद्धारका लागि सरकारको ध्यानाकर्षण गराए ।
सांसद अब्दुल खानले कमैया मुक्ता घोषणा भएको १४ वर्ष भइसक्दा पनि अहिलेसम्म पनि प्रभावकारी व्यवस्थापन हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सांसद रामप्रकाश चौधरीले देशभरका सडकको अवस्था दयनीय भएकाले त्यसको मर्मतका लागि सरकारको ध्यानाकर्षण गराए ।













