दार्चुलाको राताकाठा भीरमा मिनिट्रक दुर्घटना, एकको मृत्यु

दार्चुला— दुहु गाउँपालिका–३ राताकाठा भीरमा मिनिट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
बिहीबार बिहान महाकाली नगरपालिकाको खलङ्गाबाट दुहुको हिकिलातर्फ जाँदै गरेको से १ ख १२५२ नंको मालवाहक मिनिट्रक ब्रेक फेल भएर दुर्घटना हुँदा दुहु–३ ब्रहमदेवका अन्दाजी ४५ वर्षका करनसिंह बोहराको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
उनले भने,‘चालकको खोजी गर्दा नभेटिएपछि फरार रहेको हुन सक्ने आशंका गरिएको छ । उक्त मिनिट्रकमा मृतक बोहराको खाद्यान्न चामल थियो ।’
घटनास्थलमा इलाका प्रहरी कार्यालय हिकिलाबाट प्रहरी सहायक निरीक्षक सन्तबहादुर पालको नेतृत्वको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको उनले बताए । उक्त मिनिट्रक सडकदेखि करिब तीन सय ५० मिटर तल महाकाली नदी किनारामा खसेको थियो ।
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८० १५:३७













