
काठमाडौं— राष्ट्रिय सभाको बिहीबारको बैठकमा भ्रष्टाचार र महंगी बढेको भन्दै सांसदहरू सरकारमाथि खनिएका छन् ।
बैठकको विशेष समयमा सांसद बीना पोख्रेलले भ्रष्टाचारदिनप्रतिदिन मौलाउँदै गइरहेको भन्दै सेवाका निम्ति पदभन्दा पनि पैसाका निम्ति पद भन्ने प्रवृत्ति बढ्दै गएको बताइन् ।
सांसद कुमार दसौदीले दसैँ नजिकिँदै गर्दा कालोबजारी र महंगी मौलाउँदै गएको भन्दै त्यसलाई रोक्नुपर्ने माग गरे ।
उनले भने, ‘दसैँ कसरी मान्ने ? जनतासँग एक पैसा छैन, महंगी बढेको छ, जनता महंगीको मारमा छन्, त्यतातिर सरकारको ध्यान गएको छैन ।’ वर्तमान सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने उनको भनाइ छ ।
सरकारले पटक–पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेकामा उनले विरोध गरे । उनले भने, ‘महंगी बढेको अवस्थामा सरकारले जनताका पक्षमा काम गर्नुपर्छ ।’
दसैँमा सहज यातायातको व्यवस्था गर्नुपर्ने र भूकम्पमा परी मृत्यु भएका र घाइते परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने उनको माग छ ।













