काठमाडौं— सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवम् सांसद राजेन्द्र पाण्डेले सांसदहरुले उठाएका जनसरोकारको विषयमा मन्त्रीहरूले संसद्मा उपस्थित भएर अनिवार्य रुपमा जवाफ दिनुपर्ने व्यवस्था गर्न माग गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संसद्मा उठेका प्रश्नको जवाफ दिनका लागि मन्त्रीलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण पनि गराए । पाण्डेले जनताको समस्या पोख्ने थलो भए पनि सरकार मुकदर्शक भएर बस्यो भने सांसदको अर्थ नहुनेतर्फ पनि सचेत गराए।
उनले भने, ‘संसद् जनताको समस्या पोख्ने थलो हो यो । जनताको समस्याका बारेमा यहाँ हामी पोख्छौँ । तर सरकार मुकदर्शक भएर बस्यो भने आम जनताको बीचमा त्यो संसद्प्रति कस्तो धारणा बन्ला । त्यसैले सभामुख महोदय, म गम्भीरतापूर्वक अव आइन्दा हरेक दिन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु –हरेक दिन एक जना मन्त्रीले आएर आफ्नो मन्त्रालयसँग सम्बन्धित मन्त्रीहरूले यहाँ उठेका प्रश्नहरूको उत्तर दिने खालको परिस्थिति बनोस् । सभामुख महोदयले रुलिङ गरियोस् भन्ने माग गर्दछु ।’
सांसद पाण्डेले संसद्प्रति सरकारलाई जवाफदेही बनाउन पनि सांसदहरुले संसद्मा उठाएको प्रश्नहरूको मन्त्रीहरूले अनिवार्य जवाफ दिनुपर्ने आवश्यकतासमेत औंल्याए ।













