News Griha :: न्यूजगृह
रिगललाई आममाफी दिएकोमा गगनले मागे सरकारसँग जवाफ, कानुन नै सच्याउन आग्रह

काठमाडौं— नेपाली कांग्रेसका सांसद गगन थापाले चेतन मानन्धरको हत्यामा जेल परेका बाँकेका रिगल भनिने गुण्डा योगराज ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएकाे आममाफीबारे बिहीबार संसद् बैठकमा सरकारसँग जवाफ माग गरेका छन् ।

थापाले बैठकमा बोल्दै कानुनका छिद्र प्रयोग गर्दै आममाफी दिने प्रवृत्ति रोक्नुपर्ने बताएका हुन् । सरकार जवाफदेही हुनुपर्ने उनले बताए ।

उनले भने,‘निर्णय गरेर सरकार भाग्न पाउँदैन । यसको जवाफ चाहिन्छ । किन गरेको हो ? यत्रो सार्वजिनक प्रश्न उठेको छ । अब दुई वा तीन वटा कानुनमा टेकेर आममाफी दिन नपाइने बनाउनुपर्छ । छिद्र टाल्नुपर्छ । एउटा कानुनमा टेकेर मात्र दिने व्यवस्था गर्नुपर्छ । कानुनको अपव्याख्या भएको र स्वेच्छाचारी बढेकोले सबै कानुन फिर्ता ल्याएर एकीकृत गरी संशोधनसहित अपव्याख्या हुन नसक्ने गरी कानुन सांसदहरूले बनाउनुपर्छ ।’

चेतनकी श्रीमती भारतीले रिगललाई पुनः जेल पठाउन माग गर्दै माइतीघर मण्डलमा अनशन जारी राखेकी छिन् । रिगल असाेज ३ गते संविधान दिवसका दिन आममाफी पाएका थिए । 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १४:४०
Weather Update