News Griha :: न्यूजगृह
कोशीका मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिने

विराटनगर— सर्वोच्च अदालतको परमादेशबाट गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आगामी शनिबार विश्वासको मत लिने भएका छन् ।

विश्वासको मत लिने दिन नजिकिए पनि उनले बहुमत सदस्यको साथ पाउने निश्चित देखिएको छैन । कोशी प्रदेशको प्रदेश सभा बैठक हिजो बसेको थियो ।

२०७९ पुस १७ मा कोशी दोस्रो कार्यकालको पहिलो बैठक बसेको प्रदेश सभाको हालसम्म तीन वटा अधिवेशन सकिएका छन् । यो अधिवेशनमा असोज २० गतेभित्र मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

विश्वासको मत लिन दुई दिन बाँकी भए पनि कार्कीले विश्वासको मत पाउने टुंगो भने छैन । ९३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन ४७ सांसदको समर्थन चाहिन्छ ।

कार्की आबद्ध दल नेकपा एमालेसँग ४० सांसद छन् । त्यसमध्ये एकजना उपसभामुख छन् । एमालेलाई साथ दिँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग ६ जना सांसद छन् ।

एमाले र राप्रपाको मत जोड्दा कार्कीको पक्षमा ४५ मत मात्रै देखिन्छ । राप्रपाले पनि विश्वासको मत दिने नदिने निर्णय गरिसकेको छैन ।

राप्रपाका नेताहरुले आफूहरुले साथ दिए पनि बहुमत नपुग्ने अवस्थामा मत दिने कि नदिने भन्ने यकिन नभएको बताउँछै आएका छन् ।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार बनेको कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाएमा धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार बन्नेछ ।

कोशी प्रदेश सभामा कांग्रेसका २९ जना सांसद छन् । यस्तै, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको एकमात्र सांसद छन् ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १३:५०
Weather Update