News Griha :: न्यूजगृह
एमाले गण्डकी अधिवेशन : मतदानबाटै नेतृत्व चुनिँदै

पोखरा— नेकपा एमाले गण्डकी प्रदेश कमिटिको पहिलो अधिवेशन पोखरामा जारी छ । नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास असफल भएपछि मतदानद्वारा नेतृत्वको टुंगो लाग्ने भएको छ । पदाधिकारीसहित विभिन्न पदमा आज मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

मतदान अवधि बिहान ११ः५५ बजेदेखि साँझ ५ः३० बजेसम्मलाई तोकिएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिए । प्रदेश किमिटी अध्यक्षमा म्याग्दीका नवराज शर्मा र लमजुङका मायानाथ अधिकारी चुनावी मैदानमा छन् ।

शर्मा प्रदेश एमाले गण्डकीका हालका अध्यक्षसमेत हुन् । यस्तै उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ र नवलपुरका बाबुराम विक, सचिवमा लमजुङका धनञ्जय दवाडी र कास्कीका रश्मी आचार्य तथा उपसचिवमा पर्वतका मञ्जु अधिकारी, कास्कीका दामबहादुर विक, म्याग्दीका सन्तोष रावल र कास्कीका मीना गुरुङले उम्मेदवारी दिएका छन् ।

प्रदेश कमिटी सदस्यमा २७ जना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । अधिवेशनबाट पाँच पदाधिकारीसहित एक सय ६२ सदस्यीय नयाँ कमिटी चयन हुनेछ  । अधिवेशनमा प्रदेशका ११ जिल्लाबाट नौ सय सात प्रतिनिधिले भाग लिएका छन् ।  

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १२:५६
Weather Update