
काठमाडौं— नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेताकार्यकर्ता पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी उनीहरु एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री दाहालले एमाले लुम्बिनी सचिवालय सदस्य हरिजन, लुम्बिनी प्रदेश सदस्य रामविलास यादव, कपिलवस्तु जिल्ला सदस्य सन्दिप मौरिया, अधिकारकर्मी एवम् प्राध्यापक सञ्जयकुमार पासीलगायत नेताकार्यकर्तालाई पार्टीमा स्वागत गरे ।
हरिजन २०७० सालको संविधा सभा सदस्य र यादव एमाले निकट किसान महासंघका केन्द्रीय सदस्य हुन् । उनीहरुलाई पार्टीमा स्वागत गर्दै प्रधानमन्त्री दाहालले मुलुकमा अस्थिरता निम्त्याउने शक्ति सल्बलाइरहेकाले उत्पीडित समुदाय एक हुनुपर्ने बताए ।
पार्टीमा प्रवेश गर्नेलाई उचित जिम्मेवारी र भूमिका दिइने अध्यक्ष दाहालको भनाइ छ ।