News Griha :: न्यूजगृह
आम आदमी पार्टीका सांसद सञ्जय सिंह पक्राउ

काठमाडौं— भारतको आम आदमी पार्टीका नेता तथा राज्यसभा सांसद सञ्जय सिंहलाई पक्राउ परेका छन् । दिल्लीको कथित मदिरा भ्रष्टाचार प्रकरणमा सोधपुछपछि उनलाई पक्राउ गरिएको हो ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार प्रवर्तन निर्देशनालय (ईडी)ले सांसद सिंहलाई पक्राउ गरेको हो । ईडीले बुधबार दिल्लीस्थित सिंहको घरमा छापा मारेको थियो ।

१० घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको पीटीआईले जनाएको छ । मदिरा प्रकरणमै यसअघि दिल्लीका उपमुख्यमन्त्रीसमेत रहेका शिक्षामन्त्री मनीषसिसोदिया र तत्कालीन स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई पक्राउ गरिएको थियो । जैन उपचारका लागि धरौटीमा रिहा भए पनि सिसोदिया भने जेलमै रहेका छन् ।  

दिल्लीको शिक्षामन्त्रीसमेत रहेकी आम आदमी पार्टी नेता आतिशीमार्लेनाले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)  विपक्षी गठबन्धन 'इन्डिया' देखि डराएर सांसद सिंहलाई पक्राउ गरिएको प्रतिक्रिया दिएकी छन् । 

सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा उनी लेख्छिन्, 'चुनावअघि भाजपालाई डरले कहाँसम्म गिराउने हो? 'इन्डिया'सँग हार्ने कुराले भाजपा तिलमिलाएको छ ।' उनले ईडीलाई आम आदमी पार्टीको कार्यालयमै आफ्नो कार्यालय खोल्न भन्दै व्यंग्यसमेत गरेकी छिन् ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १९:५६
Weather Update