News Griha :: न्यूजगृह
मध्यपहाडी लोकमार्ग : यी ठाउँमा पहिरो, यातायात ठप्प, यात्रु अलपत्र
फाइल तस्बिर

बाग्लुङ— निरन्तर वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको बाग्लुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–१ पाखुतेमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

मंगलबार साँझदेखि अवरुद्ध भएको उक्त खण्ड अहिलेसम्म पनि सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

भारी वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको उनले बताए । निरन्तर वर्षा भइरहेकाले वर्षा रोकिएपछि मात्रै सडक खुलाउन सकिने केसीको भनाइ थियो ।

लोकमार्ग अवरुद्ध हुँदा पूर्वी रुकुमदेखि बाग्लुङ, पोखरा, काठमाडौं लगायतका स्थानमा जाने यातायातका साधन ठप्प भएको प्रहरी नायब उपरीक्षक केसीले बताए ।

उनका अनुसार काठमाडौं, पोखरादेखि पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम र रोल्पा जाने सवारी पनि सडकमै रोकिएका छन् ।

प्रहरी नायब उपरीक्षक केसीले भने,‘अहिले पनि भारी वर्षा भइरहेको छ । हिजोदेखि ठप्प भएको सडक अहिलेसम्म खुलाउन सकिएको छैन । सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । वर्षा रोकिने बित्तिकै सडक खुलाउने प्रयास गर्नेछौँ । ठूलो पहिरो खसेकाले तत्कालै खुलाउन सकिने अवस्था छैन ।’

पहिरोले कालीगण्डकी करिडोर पनि अवरुद्ध भएको केसीको भनाइ छ । करिडोरको बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा लेदोसहितको पहिरोले सडक पूर्ण रुपमा ठप्प भएको छ । करिडोर अवरुद्ध हुँदा बाग्लुङको दक्षिणी क्षेत्र यातायातबाट विच्छेद भएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १४:५४
Weather Update