
काठमाडौं— जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारदेखि मौसममा क्रमशः सुधार हुँदै जाने बताएको छ ।
मौसमविद् गोविन्द झाले बुधबार न्यूजगृहसँग शुक्रबारदेखि मौसममा सुधार हुने बताएका हुन् । उनले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको जानकारी दिए ।
गतवर्षको तुलनामा यस वर्ष असोज महिनामा पनि भारी वर्षा हुनुको कारण नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रकोसमेत प्रभावले रहेको मौसमविद् झाले बताए ।
त्यसैगरी झाले दसैँको नवमीदेखि भारी वर्षा हुने भनेर भइरहेको सूचनामा सत्यता नरहेको बताएका छन् । उनले भने, ‘सामाजिक सञ्जालमा, मिडियामा दसैँको नवमीदेखि भारी वर्षा हुने भन्ने खालका खबर पोस्ट भएका छन् । त्यसमा कत्ति पनि सत्यता छैन । गलत सूचना सम्प्रेषण भइरहेको छ । यहीँ हामीलाई पनि सोबारे सोधिएको छ । दसैँको मौसम अवस्थाबारे हामीले त्यतिखेरै बुलेटिन सार्वजनिक गर्छौं ।’
मौसमविद् झाले महाशाखाले ३/३ दिनको मात्र मौसम पूर्वानुमान बुलेटिन जारी गर्ने न्यूजगृहलाई बताए ।













