काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालगञ्जलगायत देशका विभिन्न क्षेत्रमा धार्मिक सद्भाव खलबलिएको तर्फ सचेत हुन आग्रह गर्दै राष्ट्रिय एकता जोगाउन आह्वान गरेका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुमार्फत ओलीले नेपालगञ्जलगायत देशका विभिन्न स्थानमा देखिएको धार्मिक विवादको कारण राष्ट्रिय एकता कमजोर बनेको भन्दै राष्ट्रिय एकता जोगाउन आग्रह गरे ।
‘पछिल्लो समय धार्मिक विवादमा नेपालगञ्जलगायत विभिन्न भागमा फैलिएको अशान्तिले सहिष्णुताको हाम्रो राष्ट्रिय धर्म कमजोर बन्न पुगेको छ । एक आपसमा धार्मिक आस्थाको सम्मान गरौं । हाम्रो राष्ट्रिय एकता जोगाऔं,’ ओलीले लेखेका छन् ।
ओलीले नेपाली समाजमा रहेको विविधता बीचको एकता नै नेपाली समाजको मुख्य विशेषता भएको उल्लेख गर्दै त्यो सहिष्णुता र आस्थामाथि एक अर्कोले सम्मान गर्नुपर्ने धारणा राखेका छन् ।
उनले लेखेका छन्,‘हाम्रो समाजको मुख्य विशेषता विविधता बीचको एकता र आपसी सहिष्णुता हो। एउटाको आस्थामाथि अर्कोले सम्मान गर्नु हाम्रो साझा राष्ट्रिय धर्म हो । सबै धर्म र अस्थाहरु नेपाल भूमिमा सधैं संरक्षित हुँदै आएका छन् ।’













