News Griha :: न्यूजगृह
बझाङमा भूकम्प जाने क्रम जारी, ४ रेक्टर स्केलमाथिका ११ भूकम्प

काठमाडौं— सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी रहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार अपराह्न २:४० बजे बझाङको तालकोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु भएर मंगलबारदेखि आज बिहानसम्म ४ रेक्टर स्केलभन्दा माथिका ११ भूकम्प गइसकेको जानकारी दिए ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोस्रोपटक ३:६ बजे बझाङको जिल्ला सदरमुकाम चैनपुर भएर ६‍.३ रेक्टरस्केल, ३:१३ बजे चैनपुर केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केल, ३:४५ बजे सुरमा केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

यस्तै ४:२८ बजे तालकोट केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केल, ४:३१ बजे सुवेडा केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केल, ५:१९ बजे सेली केन्द्रबिन्दु भएर ५ रेक्टर स्केल र ५:३८ बजे दामेना केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको सो केन्द्रले जनाएको छ ।

यसैगरी गयराति १२:१६ बजे दामेना केन्द्रबिन्दु भएर ४.१, १२:५० बजे तालकोट केन्द्रबिन्दु भएर ४.३ र आज बिहान ५:४३ बजे चैनपुर केन्द्रबिन्दु भएर ४.३न रेक्टर स्केलको भूकम्प गएको हो ।

केन्द्रका भूगर्भविद् डा.लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनै पनि बेला भूकम्प जानसक्ने बताए । ‘विगत ५ सय वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो ठाउँमा उक्त क्षेत्रमा भूकम्प जान थालेको छ’ , उनले भने ।

यसअघि गत कात्तिकमा डोटी केन्द्रबिन्दु भएर ५.७ रेक्टरस्केलको भूकम्प गएको थियो । उनले सुदूरपश्चिम क्षेत्रमा अझै केही दिन पराकम्पन आउने बताए ।  

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १२:२६
Weather Update