अंग्रेजी शब्द हनीको अर्थ मह भन्ने बुझिन्छ भने ट्रयाप भन्नाले जालमा पार्ने भनेर बुझिन्छ । महजस्तै मीठो वा राम्रो चिजको माध्यमले कुनै व्यक्तिलाई ट्रयापमा पारिन्छ भने त्यसलाई सामान्य बुझाइमा हनी ट्रयाप भनिन्छ । यो शब्द हेर्दा र सुन्दा जति सरल र सूक्ष्म देखिन्छ त्यति सरल नभई अति नै बृहत् र फराकिलो भएको पाइन्छ ।
यदि हामीले हनी ट्रयाप भन्ने विषय कहाँ प्रयोग भएको छ भनी विगतलाई नियाल्ने हो भने प्रहरीले कुनै घटना वा व्यक्तिलाई अनुसन्धान गर्दा अनुसन्धानको क्रममा प्रमाणहरू संकलन गर्नको निमित्त शंकास्पद व्यक्तिलाई कुनै किसिमको प्रलोभन देखाई हनी ट्रयापमा पारेको पाइन्छ ।
त्यस्तैगरी राजनीतिज्ञहरूले आफ्नो स्वार्थ अनुरूपको राजनीतिक लाभ लिनको लागि कसैलाई परिपञ्चमा पार्नुपरेको खण्डमा यसको प्रयोग गरेको पाइन्छ । हाल आएर देशको परिस्थिति, सामाजिक कुरीति, महँगाइ, कमजोर आर्थिक हैसियत, साक्षरताको कमीको कारण छिट्टै सजिलो तरिकाले आर्थिक आम्दानी गर्ने हेतु हनी ट्रयाप गर्ने प्रविधि बढेको छ । विदेशतिर नियाल्ने हो भने स्क्यामरहरुले राम्रो जागिर दिलाइदिने नाउँमा, राम्रो घर वा कोठा खोजिदिने नाउँमा, घरमै बसीबसी सजिलो तरिकाले आम्दानी गराइदिने नाउँमा, भारी रकमको चिठ्ठा पारिदिएको भन्ने बहानामा यसलाई प्रयोग गरेको पाइन्छ । हामीकहाँ कसैलाई अनैतिक वा अवैध यौन व्यवहारमा फसाएर आर्थिक लाभ लिनको लागि यसको प्रयोग भएको पाइन्छ ।
अनुचित लाभ लिनको लागि सामाजिक सञ्जालको माध्यमले कुनै व्यक्तिको गोप्यरूपमा सम्पूर्ण जानकारी संकलन गर्दछन् । संकलन गरेको जानकारी अनुरूप कस्तो व्यक्तिलाई जालमा फसाउने भनेर अनौपचारिक योजना बनाउँछन् । विशेष गरी बढी सम्पन्न भई आर्थिकरूपमा बलियो भएका र पारिवारिक बन्धनमा परेका विवाहित व्यक्तिहरू उनीहरूको छनोटमा पर्दछन् । यी कार्य गर्नको लागि केवल एकमात्र व्यक्ति नभई एकै सङ्गठनमा विभिन्न थरीका व्यक्तिहरूको मिलेमतो रहेको पाइन्छ । भित्री रुपमा काम गर्नको लागि जेजस्ता व्यक्तिहरू समावेश भए तापनि बाहिरी रुपमा देखा पर्ने व्यक्ति भने रुपरंगमा निकै नै लोभ लाग्दा, मनमोहक नै हुन्छन् । ती सङ्गठित व्यक्तिले परिचालन गरेको हनी याने सुन्दर व्यक्तिले प्रारम्भमा सामाजिक सञ्जालकै माध्यमबाट उनीहरूको छनोटमा परेको अपरिचित व्यक्तिसँग साथी बनाउने ढोंग गर्दै साथीको नाताबाट सम्बन्ध अगाडि बढाउँछ । साथीको रुपमा अगाडि बढाएको सम्बन्धलाई बिस्तारै प्रेममा परिणत गर्दछ र सो प्रेम सम्बन्धलाई प्रगाढ बनाउने नाउँमा शारीरिक सम्बन्धको प्रलोभन देखाई बिस्तारै शारीरिक सम्बन्ध कायम राख्छ । तत्पश्चात् उक्त व्यक्ति ट्रयापमा परेको छ भनी ढुक्क भएर उनीहरूबीच भएको नाटकीय प्रेमको माध्यमबाट ट्रयापमा पारेको व्यक्तिलाई ब्ल्याकमेल शुरु गर्दछन् र उनीहरूबीच भएको प्रेम सम्बन्ध अन्ततः आर्थिक कारोबारद्वारा समाप्त गर्दछ ।
हनी ट्रयाप गर्ने व्यक्तिले आर्थिक कारोबारको विषयलाई अगाडि बढाउनको निमित्त आफ्नो पारिवारिक नातागोताका व्यक्ति हुन् भनी अन्य सदस्यलाई समावेश गरेर पैसाको सौदाबाजी गर्ने गर्दछन् । पैसाको सौदाबाजी गर्दा दुईजनाबीच भएको वार्तालाप, कतै होटल वा कहीँ बसेको भए त्यसको अडियो तथा भिडियो रेकर्ड गरी राखेको छ भन्दै तर्साउँछन् ।
यदि उनीहरूको मागबमोजिमको कार्य नगरेमा वा मागेको रकम नदिएमा प्रहरीमा जाने धम्की दिन्छन् । प्रहरीलाई सम्पूर्ण प्रमाणहरू पेस गरी जबरजस्ती करणीको मुद्दा लगाएर जीवनभर कारागारमा कुहाइदिने अनि पारिवारिक जीवनलाई समेत तहसनहस बनाइदिने भनी नकारात्मक परिणामहरूको धम्की दिन्छन् । त्यसैले छिट्टै निर्णय गरी पैसा दिनु भनी दबाब दिन्छन् । त्यसरी दबाबका साथै धाकधम्की आइसकेपछि ट्रयापमा पर्ने व्यक्ति आफ्नो पारिवारिक जीवन बचाउन र आफ्नो नाजायज तथा गोप्य सम्बन्धबाट छुटकारा पाउनको निमित्त उनीहरूले बोले बमोजिमको रकम तिर्न तयार भएको पाइन्छ ।
२०८० साउन २८ मा एक अनलाइनमा समाचार प्रकाशित भयो, 'भक्तपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा एक महिलालाई १५ महिना १५ दिन कैद र पीडितलाई सुनसहित ९० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला' थियो । उक्त मुद्दामा महिलाले आफू अविवाहित भएको भनी विवाह गर्ने नाटक गरेकी थिइन् । जबकि ती महिलाले पहिला नै चारवटा यस्तै नाटकीय विवाह गरिसकेको भनी उनका श्रीमानले पत्ता लगाएका रहेछन् । विवाहको समयमा केटाले २५ तोला सुन र करिब १५ लाख रुपियाँ खर्च पनि गरेका रहेछन् । विवाहपश्चात् ससुरा र बूढाको श्रीसम्पत्ति उनले आफ्नो बनाइछन् । त्यसपछि केही सम्पत्ति आफ्नो ऋण तिर्न भनी बेच्न लगाएर बाँकी रहेको रकम आफ्नो हातमा पारी उनी जापान गइछन् अनि श्रीमानलाई डिभोर्स गर्न दबाब दिइछिन् । त्यसपछि श्रीमानले उनीविरुद्ध भक्तपुरमा ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता गराएका रहेछन् । भक्तपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट ती महिला कसुरदार होइनन् भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको रहेछ । यस अवस्थामा उनी त्यस आदेशलाई नमिलेको भनी विभिन्न तहको अदालत पुगे पनि सोही आदेश सदर भएछ । त्यसपश्चात् उनी थुनामा नै बस्न बाध्य भएकी रहिछन् । आफू थुनाबाट बाहिर निस्कन नपाएपछि आफू उपर मुद्दा दिई थुनाउने श्रीमानलाई उल्टै वैवाहिक बलात्कारको आरोप लगाई मुद्दा दायर गरेकी रहिछन्, जुन मुद्दा हालसम्म विचाराधीन अवस्थामा छ ।
त्यस्तैगरी, गत साउनमा हनी ट्रयापको उजुरी कै कारण जिल्ला प्रहरी परिसर ललितपुरले ४ जना व्यक्ति समातेको समाचार सञ्चारमाध्यममा प्रकाशित भयो । जसमा एकजना केटीले फेसबुकमा आफ्नो नाम परिवर्तन गरी फ्रेण्ड रिक्वेस्ट पठाएर केटा साथीहरू बनाइछन् । म्यासेन्जरबाट कुराकानी गरी ती केटा साथीलाई होटल जानको लागि अनुरोध गरिछन् । होटलमा लगेर सामान्य वार्तालाप समेत गरिछन् । वार्तालापपछि बहाना बनाएर होटलबाट बाहिर निस्किइछन् । त्यसपछि ती महिलाले ‘हामीबीचको सबै कुरा दाजुभाउजूलाई थाहा भएछ, अब उहाँहरूले भनेबमोजिम गर्नुस्’ भनी सो घटनामा अरु व्यक्तिहरूलाई सामेल गराएकी रहिछन् । ती व्यक्तिहरूले पीडितले प्रयोग गर्ने नम्बरमा कल तथा म्यासेज गरेर बार्गेनिङ गर्न थालेपछि पीडितले चेक दिएछन् । ती महिलाले अन्य केटाहरूलाई पनि पीडित बनाएको प्रहरी अनुसन्धानबाट खुलेछ । दुईजना पीडितले उक्त विषयमा जाहेरी दिइसकेपछि प्रहरीले आपराधिक लाभ (एक्सटर्सन) मुद्दामा ती महिलालाई कारबाही चलाएको भन्ने पाइयो ।
वास्तवमा यस्ता प्रकृतिका घटना राजधानीमा मात्र नभई नेपालको विभिन्न जिल्लामा घटिरहेको पाइन्छ । माई रिपब्लिकाले २०७९ मंसिर २५ मा दाङ जिल्लामा भएको हनी ट्रयापको बारेमा तीनजना व्यक्तिलाई प्रहरीले समातेको भन्ने खबर छापेको थियो । त्यस घटनामा महिलाले अपरिचित व्यक्तिसँग सम्बन्ध अगाडि बढाएर भारी रकम माग्न थालेकी थिइन् । घटनाका पीडितले पहिलोपटक १४ लाख रुपैयाँ ती महिलालाई बुझाए तापनि निरन्तर डर र त्रास दिने कार्य भइरहेको रहेछ । उनको बारम्बारको मागलाई अनादर गर्दा मानसिक यातना दिन थाले पश्चात् निकै शंका लागेर प्रहरीमा उजुरी गरेको पाइयो । त्यसैगरी, नेपालगञ्जमा एकजना व्यक्तिले १२ लाख दिइसकेपछि वकिल कै सहायता लिई कागज गरेर अब उप्रान्त कुनै किसिमको सम्बन्ध वा जबरजस्ती करणीको आरोप नलगाउने भनी लिखतसमेत बनाएको पाइयो ।
यसरी ठगी गर्न नहुने भनी मुलुकी अपराध संहिता २०७४ ले विभिन्न कानुनी प्रावधानहरूको व्यवस्था गरेको छ । जस्तै– मुलुकी अपराध संहिता २०७४ दफा २५३ ले आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने भनेको छ । आपराधिक लाभ (एक्सटर्सन) भनेको कसैले कुनै व्यक्तिलाई निजको वा अरु कसैको कुनै क्षति पुर्याउने डरत्रासमा पारी निजबाट बेइमानीपूर्वक आफ्नो वा अरु कसैको लागि कुनै लाभ उठाएमा वा त्यस्तो लाभ उठाउने नियतले कुनै काम गराएमा वा निजलाई कुनै काम गर्नबाट रोकेमा आपराधिक लाभ लिएको भनिन्छ भनी सोही दफामा परिभाषित गरेको छ । दफा २५३ (क) मा आपराधिक लाभ लिने नियतले कसैको ज्यान लिने, अंगभंग गर्ने वा गम्भीर चोट पुर्याउने डर वा त्रास देखाएमा सात वर्षसम्म कैद र सत्तरी हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ । २५३ (ख) मा कसैको व्यवसायमा गैरकानुनी तरिकाले कुनै क्षति पुर्याउने वा चरित्रमा झुटो दोष लगाउने नियतले डरत्रास देखाई आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र तीस हजार रुपियाँसम्म जरिवाना र माथि उल्लिखित (क) र (ख) मा लेखिए बाहेक अन्य अवस्थामा आपराधिक लाभ लिएमा एक वर्षसम्म कैद र दश हजार रुपियाँसम्म जरिवाना भनी व्यवस्था गरेको छ ।
कानुनमा विभिन्न थरीका व्यवस्था भए तापनि हनी ट्रयाप गर्ने समूहहरू जताततै तीव्र रुपमा फैलिरहेको देखिन्छ । त्यसको कारण के हो भन्ने बारेमा कसैको ध्यान आकर्षण भएको देखिन्न । समस्याको किनारा लगाउनको लागि वास्तवमा हामी समस्याको जरासम्म पुग्नुपर्ने आवश्यकता हुन्छ । यस विषयमा पीडितहरूको मनोविज्ञान हेर्दा उनीहरु कानुनद्वारा नै पीडित भएको भन्ने बुझाइ रहेको पाइन्छ । किनभने बारम्बार सबैजसो पीडितलाई जबरजस्ती करणीजस्तो संवेदनशील मुद्दाको आरोप लगाइदिने भन्ने धम्की र सो विषयमा पीडितले उजुरी दिन जाँदा आपराधिक कार्य कुन पक्षबाट भयो भन्ने मानक सम्बन्धित कार्यालयबाट नगरी उल्टै आफैँलाई पक्रेर कारबाही गर्ने हो कि भन्ने त्रासका कारण पीडितहरू कानुनको दायरामा आउन नखोजेको पाइन्छ । त्यसकारण जाहेरी लिने निकायदेखि लिएर कानुनको परिपालन गराउने निकायहरूले कुनै पनि महिलापुरुषमा भेदभाव नराखी सबै खाले व्यक्तिको गुनासोलाई लिएर कारबाहीको दायरालाई फराकिलो बनाएमा समाजमा समयसापेक्ष भइरहने यस्ता किसिमका अपराधहरू नियन्त्रण गर्न सहज हुन सक्छ । (लेखक अधिवक्ता हुन् । यो उनको निजी विचार हो ।)