हेटौँडा—काठमाडौं सडकखण्ड अवरुद्ध

मकवानपुर— वर्षासँगै आएको पहिरोका कारण हेटौँडाबाट काठमाडौं जोड्ने दुई वटा सडकखण्डमा बुधबार बिहानैबाट यातायात अवरुद्ध भएका छन् ।
पहिरोका कारण हेटौँडाबाट काठमाडौं जोड्ने कान्ति लोकपथ सडकखण्डअन्तर्गत ललितपुरको भट्टेडाँडास्थित पहिरो जाँदा बिहानैदेखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीको भनाइ छ ।
यसैगरी पहिरोका कारण कुलेखानी–सिस्नेरी सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरो जाँदा बिहानैदेखि यातायात अवरुद्ध भएको छ । ती दुवै सडकखण्डमा गएको पहिरो आज अपराह्नमा हटाई यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
प्रहरीका अनुसार उक्त सडकखण्ड हुँदै चल्ने सवारीसाधन वैकल्पिक सडकबाट सञ्चालन गर्न आग्रह गरिएको छ ।
प्रकाशित मिति: बुधबार, असोज १७, २०८० १०:४०













