News Griha :: न्यूजगृह
कालीगण्डकी करिडोर अवरुद्ध
प्रतीकात्मक तस्बिर । 

नवलपरासी—अविरल वर्षासँगै खसेको पहिरोको कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

नवलपरासी (बर्दघाटसुस्तापूर्व) नवलपुर खण्डमा पहिरोको कारण कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।

बुलिङटार गाउँपालिका–१रातबीसेमा खसेको पहिरोको कारण गएरातिदेखि कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको हो । पानी परिरहेकाले तत्काल पहिरो पन्छाएर सवारीसाधन सञ्चालन गर्न कठिन रहेको उनको भनाइ छ ।
 
कालीगण्डकी करिडोर पहिरोको कारण अवरुद्ध भएसँगै यस खण्ड भएर चल्ने सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । यसखण्ड हुँदै गैँडाकोटबाट नवलपुरको बुलिङटार, बौदीकाली, पाल्पाको रामपुर, तनहुँ, पोखरा, स्याङ्जालगायत स्थानका लागि सवारीसाधन सञ्चालन हुने गर्दछन् ।

निरन्तरको झरीले जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडकमा समेत  विभिन्न  स्थानमा क्षति पुर्याएकोले सवारी आवागमन कठिन बनेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ०८:०९
Weather Update