News Griha :: न्यूजगृह
एमालेको अवरोधले बाग्मती प्रदेश सभा बैठक बुधबारका लागि सारियो

मकवानपुर— बाग्मती प्रदेश सभा बैठक मंगलबार अपराह्न २ बजे बस्ने भनिएकोमा विशेष कारणवश बुधबार अपराह्न ४ बजे बस्ने भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सोमबार साँझ बसेको प्रदेश सभाको बैठकमा प्रदेश चिट्ठा विधेयकसम्बन्धी विषयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सन्देशसहित फिर्ता पठाएको पूर्णपाठ प्रदेश सभाका प्रत्येक सदस्यहरुलाई उपलब्ध गराउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलले पटक–पटक संसद् अवरुद्ध गरी नाराबाजी लगातार गरिरहेकाले सोमबार साँझ बैठक स्थगित गरी  मंगलबार २ बजेका लागि सारिएको थियो ।

सोमबार साँझ सरकार पक्ष र प्रतिपक्ष दलबीच सहमतिको प्रयास गरिए पनि सहमति जुट्न नसकेकाले मंगलबार वार्तालाप गरी सत्तापक्ष र प्रतिपक्षबीच सौहार्द्रपूर्ण वातावरणमा सहमतिको कायम भएअनुसार आजको सट्टा बुधबार अपराह्न ४ बजे बस्ने सहमति भएको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले बताए ।

सोमबार साँझ बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले प्रदेश चिट्ठा विधेयकसम्बन्धी पुनः विचार गरियोस् भनी प्रदेश सभाको बैठकमा प्रस्ताव टेबुल गरेलगत्तै प्रतिपक्ष दल एमालेले संसद् अवरुद्ध गरिरहेको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १५:२४
Weather Update