धादिङ— माछामा खानै नमिल्ने रङ मिसाउने गरेको कुरा चर्चामा आएपछि मलेखुका माछा बिक्री गर्ने होटल व्यवसायीले अखाद्य रङको प्रयोग हटाउन थालेका छन् ।
गजुरी गाउँपालिका–२ स्थित मलेखुको मजुवा बजारका होटल तथा माछा पसलेले अब आइन्दा माछा तथा अन्य खानामा रङको प्रयोग नगर्ने सामुहिक प्रतिबद्धता जनाएका हुन् ।
‘कालो देखिएको रङ प्रयोग नगरिएको फ्रेस माछा हो’,व्यवसायी जीवन अधिकारीले भने,‘रङ दलेर रातो आकर्षक बनाइएका कहिकतै देख्नुभयो भने पनि नखानुहोला । किनकी त्यसमा पकाएर खानै नमिल्ने अखाद्य वस्तुको मिसावट हुनसक्छ ।’
त्यस्ता आकर्षक बनाएर राखिएका माछामा अखाद्य वस्तु मिसावट हुने पुष्टि भएपछि स्थानीय होटल व्यवसायी र माछा व्यवसायीले अबदेखि त्यस्ता रङको प्रयोग ठप्पै पार्ने अभियान थालिसकेका छन् ।
अनुगमनकारी निकायलाई नै साक्षी राखेर व्यवसायीले अज्ञानताका कारण माछा राम्रो देखाउन रङको प्रयोग गरेको र त्यसले मानव स्वास्थ्यमा पर्ने असर थाहा भएपछि आफूले सचेत भएर रङको प्रयोग हटाउने अभियान थालिएको उनको भनाइ थियो ।
मजुवा बजारमा ४५ वटा माछा बिक्री गर्ने होटल तथा पसल छन् । सबै व्यवसायीले रङ हटाउने सामूहिक निर्णय नै गरेका छन् ।
मूल्यमा पनि एकरुपता कायम गर्ने र अटेर गरी राज्यले तोकेको मापदण्ड विपरित रङ प्रयोग तथा अन्य काम गर्नेलाई व्यवसायी आफैंले पनि कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेका छन् ।













