News Griha :: न्यूजगृह
१६ वर्ष शिक्षण गरेर ड्रागन खेतीमा लागिन् तनहुँकी कल्पना, लाखौं कमाउँछिन् 

तनहुँ— तनहुँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिक रूपमा थालेको ड्रागन फलको खेतीबाट पहिलो वर्षमै राम्रो आम्दानी भएको छ । पूर्वशिक्षक, व्यवसायी तथा स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी सुरु गरेको ड्रागन खेतीबाट आठ लाख बराबरको ड्रागन बिक्री गरेकी छिन् ।

गत वर्षको वैशाखदेखि व्यवसाय थालेकी गौलीले एक वर्षको अवधिमा आर्ठौं पटकसम्म फल टिप्दा उक्त परिमाणको ड्रागन बिक्री गरेको बताइन् । ‘अझै पनि फार्मबाट करिब छ लाख बराबरको ड्रागन बिक्री गर्ने अपेक्षा गरेकी छु’ , उनले भनिन्, । अर्को हप्ता नवौँ पटक टिप्न योग्य भएको उनी बताउँछिन् ।

उनले भनिन्,‘यसपटक करिब छ क्विन्टल उत्पादन हुने अपेक्षा गरेको छु ।’ १२ देखि १४ पटकसम्म फल दिन सक्ने उनको आशा रहेको छ । उनलाई बजारको कुनै समस्या छैन । उक्त फार्ममा उत्पादन भएका ड्रागन दमौली बजारमा खपत हुने गरेको छ ।

वैशाख महिनामा फूल खेल्न सुरु भएको ६० दिनभित्र खाना योग्य हुनेछ । ‘कतिपय व्यवसायी फार्म आएर ड्रागन लैजानु हुन्छ’,उनले भनिन्,‘कुनै समयमा आफैँले गाडीको प्रयोग गरी बजारसम्म लगेर बिक्री गर्ने गरेको छु ।’ उत्पादित ड्रागन प्रतिकिलो पाँच सयदेखि छ सयसम्म बिक्री हुने गरेको छ ।

गौलीले यस वर्ष तीन लाख बढीको ड्रागनका बिरुवा बिक्री गरिन् । प्रतिबिरुवा दुई सयदेखि पाँच सयसम्म बिरुवा बिक्री गरेको उनले बताइन् । ड्रागनका बिरुवा लिन तनहुँलगायत विभिन्न जिल्लाबाट मानिसहरु आउने गरेका  छन् ।  

१६ वर्ष शिक्षण पेसा र करिब १५ वर्षसम्म दमौली बजारमा बुटिक व्यवसाय गरेकी गौली अहिले ड्रागन खेतीतर्फ आकर्षित भएकी हुन् । व्यास नगरपालिका–३ मालपोत लाइनमा ‘व्यास कोसेली घर’ समेत सञ्चालन गर्दै आएकी छिन् ।

स्थानीयस्तरमा उत्पादित अग्र्यानिक तरकारी, घरेलु सामग्री, घरेलु कपडालगायत सामग्री उक्त कोसेली घरमा बिक्री गर्ने गरेको उनले बताइन् । 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १३:५९
Weather Update