
पोखरा— पोखरा महानगरपालिका–११ सेती नदीको किनारास्थित रामघाट केही वर्षअघिसम्म गाँजा, चरेसजन्य लागूऔषधको प्रयोग गर्ने दुर्व्यसनीहरूको अखडा जस्तै थियो ।
नजिकै रहेको गण्डकी अस्पतालबाट बेवारिसे शिशुहरूको शव पनि फाल्ने गरिन्थ्यो । लागूऔषध र फोहोरले कुरुप बनेको उक्त स्थान यतिबेला ड्रागन फ्रुटको बगैँचामा परिणत भएको छ ।
पुनः समाज पोखराको व्यवस्थापनमा उक्त क्षेत्रमा तीन वर्षअघिदेखि सुरु गरिएको ड्रागन फ्रुट खेतीले यस क्षेत्रको पहिचान नै बदलिदिएको छ भने त्यहाँ उत्पादित ड्रागन फ्रुट बजारमा समेत पुुगेको छ ।
‘तीन वर्षअघि यहाँ ड्रागन फ्रुटको खेती गर्न सकिन्छ भन्ने विषय धेरैलाई पत्याउर लाग्दैनथ्यो’ , समाजका संस्थापक एवम् ड्रागन फ्रुट खेतीका संयोजक राजकुमारी गर्वुुजा पुनले भनिन्,‘बगैँचामा लटरम्म फल्न थालेको ड्रागनले यतिबेला सबैलाई खुसी बनाएको छ ।’
उनका अनुसार तीन वर्ष अघिसम्म यो स्थान गाँजा, चरेसजन्य लागूऔषधमा फसेकाहरूको अखडा जस्तै थियो । त्यस्तो स्थानमा समाजका सदस्यको अथक प्रयाससँगै अहिले ड्रागन फ्रुटको सुन्दर बगैँचा बन्दा आफूहरु निकै खुसी बनेको उनको भनाइ छ ।
वि.सं.२०७७ बाट सुरु भएको ड्रागन फ्रुट १६ महिनादेखि फल्न थालेको बताउँदै उनले उत्पादित फलको बिक्रीका लागि बजारको कुनै समस्या नरहेको जानकारी दिइन् । पूर्णरुपमा प्राङ्गारिक मलको प्रयोग गरी उत्पादन गरिएको रातो ड्रागन फ्रुटको बजारमा माग राम्रो रहेको उनको भनाइ छ ।
‘गरे के हुँदैन भन्ने सन्देश ड्रागन खेतीका माध्यमबाट दिन खोजेका हौँ’ , उनले थप भनिन्, ‘यदि कोही कसैले तालिम लिन खोज्छन् भने पनि हामी निःशुल्क रुपमा तालिम दिन पनि तयार छौँ ।’
सुरुमा कुनै तालिम बिना नै युुट्युुव हेरेकै आधारमा आफूहरूले ड्रागन फ्रुटको खेती थालेको पुन समाजका कोषाध्यक्ष शेरबहादुर पुनले जानकारी गराए ।
अघिल्लो वर्षमा करिब तीन लाख बराबरको ड्रागन फ्रुट बिक्री गरेको समाजले यसवर्ष झन्डै १० लाखको बिक्री गर्ने लक्ष्य राखेको उनले बताए ।
ड्रागन फ्रुट खेतीका लागि सुुरुमा ४३ जनाबाट प्रतिव्यक्ति एक लाखका दरले ४३ लाखकै बीउ पुँजीबाट थालिएको बताउँदै उनले हालसम्म करिब ३७ लाख खर्च भएको जानकारी दिए ।