
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९औँ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपाली पुरुष खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै धन्यवाद दिएका छन् ।
चीनमा जारी १९औँ एसियाली खेलकुदको क्रिकेटमा नेपालले उत्कृष्ट प्रदर्शन गरेपनि २३ रनले पराजित भएको थियो ।
प्रधानमन्त्री दाहालले १९औँ एसियाली खेलकुद प्रतियोगितामा मंगोलिया र माल्दिभ्ससँगको प्रतिस्पर्धामा कीर्तिमानसहित प्राप्त गरेको सफलताप्रति पनि बधाई ज्ञापन गरेका छन् ।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘१९औं एसियाली खेलकुद प्रतियोगितामा मंगोलिया र माल्दिभ्ससँगको प्रतिस्पर्धामा कीर्तिमानसहित प्राप्त गरेको सफलताप्रति हार्दिक बधाइ । साथै आज बिहान भारतसँग भएको खेलमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टिमलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी रशिला महर्जन विजयी भएकी छन् ।













