News Griha :: न्यूजगृह
शिक्षा विधेयक संशोधन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं— गाउँपालिका महासंघ र नेपाल नगरपालिका संघले संसदमा टेबुल भएको विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्था संशोधन गर्न माग गरेका छन् । महासंघ र संघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर विधेयकमा संशोधन गर्नुपर्ने बुँदा बुझाएका छन् ।

उनीहरूले शिक्षा विधेयकमा १७ वटा दफामा संशोधन गर्नुपर्ने र पाँच वटा विषय हटाउन माग गरेका छन् । नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले शिक्षा विधेयक संविधानको विपरीत आएको बताए ।

उनले विधेयकमा रहेको जिल्ला शिक्षा कार्यालय राख्ने विषय स्वीकार गर्न नसकिने भएकोले हटाउन माग गरेको बताए । उनी भन्छन्,‘शिक्षा विधेयक संविधानको खिलापमा छ ।’ उनीहरूले विद्यालय शिक्षा विधेयकमा शिक्षा विभाग ब्युँताउने प्रस्ताव गरेकोमा पनि विरोध गरेका छन् ।

‘शिक्षा कार्यालय, शिक्षा विभाग ब्युँताउन पाइँदैन । नगरपालिका संघका अध्यक्ष ढुंगानाले भने,‘संविधानले नचिनेका यस्ता बुँदा विद्यालय शिक्षा विधेयकबाट हटाउनुपर्छ भनेर प्रधानमन्त्रीज्यूलाई पनि ज्ञापनपत्र दिएका छौं ।’

प्रधानमन्त्री दाहालले संविधानअनुसार नै विधेयक आउने वचन दिएको ढुंगानाले बताए ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १२:०६
Weather Update