
नयाँ दिल्ली– भारतमा कोरोना संक्रमितको संख्या बढेपछि केन्द्रीय स्वास्थ्य मन्त्रालयले आकस्मिक बैठक बोलाएको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्री डा.मनसुख मण्डवियाले कोभिड संक्रमितको वृद्धि भएको भन्दै शुक्रबार सबै राज्य र केन्द्र शासित प्रदेशका स्वास्थ्य मन्त्रीहरूसँग समीक्षा बैठक आह्वान गरेका हुन् ।
स्वास्थ्य राज्यमन्त्री भारती प्रवीण पवारका अनुसार कोभिड नियन्त्रणका लागि केन्द्र सरकारले नियमित रूपमा राज्य र केन्द्र शासित प्रदेशहरूमार्फत कोभिडसम्बन्धी निर्देशहरू जारी गरिसकेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा स्वास्थ्यमन्त्री मण्डवियाले राज्य र केन्द्र शासित प्रदेशका स्वास्थ्य मन्त्रीहरूसँग समीक्षा बैठक गर्न लागेका हुन् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार भारतमा बिहीबार ५ हजार ३ सय ३५ नयाँ कोरोना संक्रमित थपिएका छन् । जुन पछिल्लो १९५ दिनमा सबैभन्दा धेरै हो ।
बिहीबार देशमा सक्रिय संक्रमितको संख्या २५ हजार ५८७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।













