झापा— दमकमा भएको एक हत्या प्रकरणमा संलग्न मुख्य आरोपितसहित ११ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
दमक नगरपालिका–१ स्थित रूवेल माछा फ्राईमा छुरा प्रहारबाट मृत्यु भएका इलामको चुलाचुली गाउँपालिका–३ का ३८ वर्षीय गोविन्द लिम्बूको हत्यामा संलग्न मुख्य आरोपित दमक–७ का २२ वर्षीय सनम राईसहित ११ जनालाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।
इलाका प्रहरी कार्यालय दमकमा सोमबार पत्रकार सम्मेलन गरी मुख्य आरोपित राईसहित २२ वर्षीय आनन्द भुजेल, १८ वर्षीय सवास आलम, माछा फ्राईका सञ्चालक विशाल कुमाल, २५ वर्षीय नामुद थेवे, २२ वर्षीय राजकुमार भुजेल, २६ वर्षीय आकाश केरूङ, २३ वर्षीय राहुल श्रेष्ठ, २८ वर्षीय सलमान लिम्बू, ३१ वर्षीय सन्दिप राई, ३८ वर्षीय सूर्य केरूङ, ३८ वर्षीय उपेन्द्र राईलाई सार्वजनिक गरिएको हो ।
घटना भएकै दिन होटल सञ्चालक कुमालसहित ८ र सोमबार मुख्य आरोपित सनम राईसहित तीन जनालाई मोरङको उर्लाबारी–१ टप्पु टोलबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले बताए ।
उनका अनुसार आपसी झगडा हुँदा मुख्य आरोपित सनम राईले लिम्बूको घाँटी तथा हातमा छुरा प्रहार गरी हत्या गरेका थिए ।