चैत्रभित्रै इजाजत नवीकरण गर्न निर्माण व्यवसायीलाई आग्रह

काठमाडौं— भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई चैत्र महिनाभित्रै इजाजत पत्र नवीकरण गर्न आग्रह गरेको छ ।
मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले सूचना जारी गर्दै इजाजत नवीकरण चैत्र मसान्तभित्र गरिसक्न अनुरोध गरेको हो ।
सार्वजनिक निर्माण कार्य गर्न दिइने इजाजत पत्रको अवधि हरेक आर्थिक वर्षमा समाप्त हुने भएकाले इजाजत पत्रको अवधि समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गराउनुपर्ने सूचनामा उल्लेख छ ।
यो अवधिभित्र नवीकरण नगर्ने व्यवसायीले म्याद नाघेको छ महिनाभित्र थप दस्तुर तिरेर नवीकरण गराउन सक्छन् ।
६ महिनाभित्र पनि नवीकरण नगरेमा इजाजत पत्र स्वतः खारेज हुने सूचनामा उल्लेख छ । इजाजत पत्र नवीकरण गराउँदा पछिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाणपत्रलाई अनिवार्य गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९ ०९:२५













