
काठमाडौं— राजस्व अनुसन्धान विभागले अवैध कारोबार गर्ने चार जनाविरुद्ध १५ करोड बढी बिगो कायम गरी सोमबार जिल्ला अदालत सिरहामा मुद्दा दर्ता गरेको छ।
विभागले सिरहाको माडर बस्ने ४७ वर्षका प्रेमकुमार यादव, सञ्जयकुमार साह, पवनकुमार यादव र ४० वर्षका अरुण यादवविरुद्ध विदेशी विनिमय अपचलन गरी अवैध कारोबार गरेको आरोपमा मुद्दा दर्ता गरेको हो । विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार पवन र अरुण फरार छन् ।
प्रहरीले गत भदौ १५ गते सिरहा नगरपालिका १५ कालीचौकमा भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बरप्लेटको कारलाई सुरक्षा जाँच गर्ने क्रममा एक हजार दरका ३ हजार ४०० थान थान (३४ लाख रुपैयाँ) र ५०० दरका दुई हजार थान (१० लाख रुपैयाँ) फेला पारी राजस्व अनुसन्धान विभागमा बुझाएको थियो।
त्यसपछि विभागले गरेको अनुसन्धानमा प्रतिवादी प्रेमकुमार यादव, सञ्जयकुमार साह, पवनकुमार यादव र अरुण यादवसमेतको मिलेमतोमा गैह्रकानुनी रूपमा इजाजत प्राप्त नगरी प्रेमकुमार यादवले भारतीय नागरिक राजकुमार पासवानबाट उक्त रकम ल्याएको पाइएको अधिकारीले बताए ।
विभागका अनुसार राजकुमार पासवानबाट प्राप्त गरी अन्य प्रतिवादीहरूलाई दिन बुझाउन बाँकी रहेको रकम ८३ लाख ३८ हजारसमेत गरी जम्मा एक करोड २७ लाख ३८ हजार बरामद गरिएको थियो ।
अनुसन्धानका क्रममा प्रतिवादी अरुण यादवको हकमा ८ करोड करोड ६५ लाख ६० हजार र प्रतिवादी पवनकुमार यादवलाई ५ करोड ८ लाख ८८ हजार गरी जम्मा बिगो १५ करोड एक लाख ८६ हजार ८०० बराबरको रकम अवैध रूपमा कारोबार गरेको पाइएको विभागको दाबी छ। सोही बिगो कायम गरी मुद्दा चलाइएको हो ।













