News Griha :: न्यूजगृह
नक्कली कागजात पेस गरी जापान पठाउने १४ म्यानपावर निलम्बित

काठमाडौं— नक्कली कागजात पेस गरी श्रम स्वीकृति लिई जापानमा प्रशिक्षार्थी कामदार पठाउने १४ म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले सोमबार निलम्बन गरेको छ ।

विभागका महानिर्देशक मदन दाहालले तालिमको शंकास्पद प्रमाणपत्रमाथि भएको प्रारम्भिक अनुसन्धानबाट संलग्नता देखिएको भन्दै १४ म्यानपावर कम्पनीलाई निलम्बन गर्ने निर्णय गरेका हुन् ।

‘वैदेशिक रोजगारीको लागि इजाजतपत्र प्राप्त केही संस्थाहरूले जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृति लिई नेपाली कामदारलाई जापान पठाएको भन्ने उजुरीको आएको थियो,’ दाहालले भने, ‘यसमाथि प्रारम्भिक अनुसन्धानले नक्कली कागजात बनाउने कार्यमा संलग्नता देखिएकालाई निलम्बन गरिएको हो ।’

दाहालले निलम्बन गरी थप अनुसन्धान गर्ने बताए । ‘अन्य संस्थाको हकमा पनि अनुसन्धान भइरहेको छ,’ उनले भने ।

निलम्बित हुने म्यानपावरहरूमा गुड लाइफ इन्टरनेसनल इम्प्लोइमेन्ट एजेन्सी, सत्यवती ओभरसिज, डीएन इन्टरनेसनल नेपाल ओभरसिज इम्प्लोइमेन्ट एजेन्सी, रोयल ओभरसिज नेपाल, जब्स ग्लोबल डट कम इम्प्लोइमेन्ट सर्भिस, लायन इन्टरनेसनल नेपाल, भण्डारी ओभरसिज, वर्ल्ड फेभर ओभरसिज, नाप इन्टरनेसनल, मञ्जु श्री ओभरसिज सर्भिस, एएनएस एसोसिएट, क्यापिटल इन्टरनेसनल म्यानपावर, ग्रान्ड सुइट जब्स र ओक्सन इन्टरनेसनल परेका छन् । 

जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) अन्तर्गत प्राविधिक प्रशिक्षार्थी कामदार पठाउन १४२ वटा म्यानपावर कम्पनीले अनुमति पाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  २०:२८
Weather Update