
काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएकी छन् ।
सोमबार सिंहदरबारमा पछिल्लो समयमा सञ्चारमाध्यममा देखिएको समस्याका बारेमा नेपाल पत्रकार महासंघ र श्रमजीवी पत्रकार संघको ध्यानाकर्षण कार्यक्रममा मन्त्री शर्माले ऐन कार्यान्वयनमा देखिएको समस्याप्रति सरकार गम्भीर रहेको भन्दै आवश्यक परे समाधान गरिने बताएकी हुन् ।
मन्त्री शर्माले ऐन कार्यान्वयन हुन नसक्नुको कारण पहिचान गर्नुपर्ने र ऐनमा कमी कमजोरी देखिए पूर्ण बनाउनुपर्ने धारणा राखिन् । उनले सञ्चारमाध्यममा देखिएको श्रमका समस्याप्रति मन्त्रालय जानकार रहेकाले सूचना तथा प्रसारण विभागलाई समाधानका लागि आग्रह गरिएको बताइन् । मन्त्री शर्माले सहज रुपमा श्रम सम्बन्धी विषय हल हुन नसके कानुनी बाटो खुला गर्नुपर्नेमा मन्त्रालय प्रष्ट रहेको बताए ।
त्यस्तै पत्रकार महासंघ अध्यक्ष विपुल पोख्रेलले श्रमजीवी पत्रकारसम्बन्धी कानुन लागू हुन नसकेको बताए ।













