
काठमाडौं— प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएर चाडबाडलक्षित यातायत व्यवस्थापनबारे छलफल गर्ने भएको छ ।
सोमबार बसेको बैठकले दसैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै यातायातको व्यवस्थापनबारे सचेत गराउने उद्देश्यका साथ असोज १७ गते बुधबार बस्ने समितिको बैठकमा मन्त्री ज्वालासहितका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारीलाई बोलाउने निर्णय गरेको समितिका सभापति दीपकबहादुर सिंहले जानकारी दिए ।
उनले भने,‘समितिको बैठक असोज १७ गते बुधबार बिहान ११ बजे बस्ने छ । त्यसमा पूर्वाधार मन्त्रालयका मन्त्रीलाई उपस्थित हुन आग्रह गर्दछु । अहिले दसैँ, तिहार, छठ पर्व भएकाले यता (काठमाडौं) बाट जाने राजमार्ग वर्षात र पहिरोले तहसनहस भएको छ । चाँडो बनाउन र उपत्यकाबाट बाहिरी जिल्लामा लाखौंको सङख्यामा जनता घर जाने भएकाले जाने बस व्यवस्थापन र टिकटको व्यवस्थापन गर्न मन्त्रीज्यूलाई बोलाएको छु ।’
बुधबार बस्ने बैठकमा मन्त्री ज्वालासमक्ष समितिका सदस्यहरुले दसैँ, तिहारजस्ता चाडपर्वमा घर जाने यात्रुका लागि आवश्यक यातायातको व्यवस्था गर्ने सम्बन्धमा ध्यानाकर्षण गराउने पनि सो समितिले जनाएको छ ।













