
भोजपुर— भोजपुरका चन्दबहादुर तामाङले डोका बिक्रीबाट आम्दानी गर्दै आएका छन् । पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो कामबाट घरपरिवार चलाउन समस्या नभएको तामाङले बताए ।
टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा खम्बुखाका ७० वर्षीय तामाङले ४० वर्षअघिबाट डोका बुनेर बिक्री गर्दै आएको बताए । एकदिनमा आठदेखि दश वटासम्म डोका तयार गर्ने उनको भनाइ छ । डोका बिक्रीबाट मासिक ३० देखि ३५ हजारसम्म आम्दानी हुने उनले जनाए ।
‘चालीस वर्षअघिबाट डोका बुन्ने काम गर्दै आएको छु’,उनले भने,‘एक दिनमा आठदेखि दश वटासम्म डोका बुन्छु । डोका बिक्रीबाट मासिक ३० देखि ३५ हजारसम्म आम्दानी हुन्छ । डोकाबाट नै मेरो चिनारी बनेको छ ।’
डोका स्थानीय बजारमा प्रतिगोटा तीन सय ५० देखि चार सयसम्ममा बिक्री हुने तामाङले बताए । घरको अन्य काम नगरी यही मात्र पेसा गर्ने हो भने वार्षिक सात/आठ लाखसम्म आम्दानी लिन सकिने तामाङले बताए ।
‘डोका बुन्ने कामबाट राम्रै आम्दानी हुन्छ’,उनले भने,‘यही मात्र व्यवसाय गर्ने हो भने वार्षिक सात/आठ लाख आम्दानी गर्न कठिन हुन्न । अन्य कृषि कर्म गरेर बचेको समयमा बुनेर पनि वार्षिक तीनदेखि चार लाखसम्म आम्दानी हुन्छ ।’
उनले लेकमा पाइने बाँसबाट बुनेका डोका जतनसँग प्रयोग गरेमा तीन वर्षसम्म टिक्ने बताए । यस्ता खालका परम्परागत पेसालाई स्थानीय सरकारले संरक्षणसँगै विकासमा ध्यान दिन आवश्यक रहेको उनले बताए ।
‘पछिल्लो समय विभिन्न खालका सीपमूलक पेसा लोप हुने अवस्था छ’, उनले भने,‘मैले गरेको काम मेरो छोरा नातिले गर्न चाहँदैनन् । यस्ता खालका परम्परागत पेसालाई जोगाउन आवश्यक छ । यसमा सरकारले पहल गर्नुपर्छ ।’