गोरखा— हरेक वर्ष बर्खा लागेपछि गोरखाको सहिद लखन गाउँपालिका–५ र गोरखा नगरपालिका–८ का बासिन्दालाई ज्यान नै जोखिममा राखेर लुदीखोला वारपार गर्नुपर्ने बाध्यता वर्षौँदेखिको हो ।
खोलामा झोलुङ्गे पुलसमेत नहुँदा बर्खा लागेपछि त्यस क्षेत्रका बासिन्दालाई वारिपारि गर्नुपरे लौरोको साहायताले खोलाको पानी नापेर वारपार गर्नुपर्ने बाध्यता त सामान्यजस्तै थियो । तर गएको वर्षदेखि लुदीखोलामा पक्की पुल बनेपछि भने वर्षौँदेखि कठिनाइ भोग्दै आएका स्थानीयलाई अहिले सजिलो भएको छ ।
गण्डकी प्रदेश सरकार तथा दाताहरुको आर्थिक सहयोगमा लुदीखोलामा पक्की पुल निर्माण भएपछि ज्यान नै जोखिम मोलेर खोला ओहोरदोहोर गर्नुपर्ने बाध्यता अब अन्त्य भएको हो ।
'बर्खामा नदी र खोलामा यसै पनि पानी सतह बढी हुने भएकाले जोखिम हुने नै भयो, स्थानीय हर्कबहादुर थापाले भने, 'त्यसमाथि लुदीखोलामा त बर्खा लागेपछि वारपारसम्म भेल आउने भएकाले सानो आँटले खोला तर्न सकिँदैन थियो, अहिले पुल बनेपछि धेरै सजिलो भएको छ ।'
पुल नहुँदा पैदलयात्रुलाई मात्र होइन मोटरसाइकललगायतका सवारी साधनसमेत बर्खाका बेलामा जोखिम मोलेर खोलाबाट वारपार गराउन पर्दाको कठिनाइ उस्तै थियो । मेलापात र अर्मपर्म गर्नका लागि मात्र नभएर नजिकको बजार गोरखा सदरमुकाममा पुगेर दैनिक उपभोग्य सामग्री खरिदका लागि ताक्लुङ र आसपासका स्थानीयलाई लुदीखोला वारपार नगरी सुखै थिएन ।
'छोटो र मुख्य बाटो भएकाले पनि घण्टौ लगाएर घुमेर सदरमुकाम पुग्नुभन्दा अधिकांश मानिस जोखिम मोलेरै खोला वारपार गर्ने गर्दथे,' स्थानीय रामचन्द्र ढकालले भने, 'बर्खाका बेला घाँटीघाँटीसम्म आउने खोला तरेरै भए पनि काम टार्न पर्थ्यो । हामी कयौँ पटक लौरोले पानी नापेर पनि खोला वारपार गरियो ।'
पुल निर्माण भएसँगै गाउँपालिकाभित्र उत्पादन हुने कृषिजन्य सामग्रीको बजारीकरणका लागि समेत सजिलो भएको सहिद लखन गाउँपालिका–५ ताक्लुङकी सानुमाया परियारले बताइन् । सहिद लखन गाउँपालिकाबाट लुदीखोला हुँदै मुख्य राजमार्ग पृथ्वी राजमार्गसँग जोडिएको सबैभन्दा छोटो बाटो भएकाले पनि लुदीखोलामा पक्की पुल बनेपछि स्थानीयलाई काठमाडौं, पोखरा, चितवनलगायतका सहर आवतआवतमा समेत छिटो र सजिलो भएको भएको छ ।
लुदीखोलामा कूल तीन करोड ४४ लाख ३१ हजार रुपैयाँको लागतमा पक्की पुल निर्माण गरिएको हो ।