
विराटनगर— नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि राति मतदान भएको छ ।
एमाले अधिवेशनमा आइतबार राति साढे १० बजेदेखि मतदान सुरु भएको थियो । आइतबार बिहान साढे ५ बजे मतदान सकिएको हो । मतगणना भने सोमबार दिउँसोदेखि सुरु गर्ने तयारी छ ।
आइतबार दिउँसो १ बजेबाट सुरु गर्ने भनेको मतदानको समय तयारी नपुगेको भन्दै पटकपटक समय सारेर राति मात्र सुरु गरिएको थियो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार ९७७ जनाले मतदान गरेका छन् । एमालेको कोशी प्रदेश अधिवेशनमा ९९७ जना प्रतिनिधि आएका थिए । २० जनाले मतदान गरेनन् । अधिवेशनले २१५ सदस्यीय कमिटी चयन गर्नेछ । उपाध्यक्षमा टीकाराम चेम्जोङसहित ४९ सदस्य भने निर्विरोध भएका छन् । अध्यक्षसहित १६६ जना छनोटका लागि निर्वाचन भएको हो ।
प्रदेश अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा चुनावी मैदानमा छन् । सचिवमा शैलेश लामा र राजकुमार भण्डारी उम्मेदवार छन् । उपसचिवमा खेम नेपाली, देवान राई र जलवर्षा राजवंशी उम्मेदवार छन् ।