News Griha :: न्यूजगृह
सर्लाहीको मलङ्गवामा जारी कर्फ्यु हट्यो

काठमाडौं— सर्लाहीको मलङ्गवा क्षेत्रमा हिंसात्मक गतिविधि रोक्न स्थानीय प्रशासनले लगाएको कर्फ्यु हटाइएको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अगुवाइमा बसेको सर्वपक्षीय बैठकले मलङ्गवा क्षेत्रमा लगाएको कर्फ्यु निष्क्रिय पार्ने निर्णय गरेको हो । बैठकले असोज १८ गते बृहत् सद्भाव र्‍याली निकाल्ने निर्णय पनि गरेको छ ।

सद्भाव र्यालीमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी हुनेछन् । उपप्रधान एवं गृहमन्त्रीको उपस्थितिमा सर्वपक्षीय र सर्वदलीय बृहत् सद्भाव र्‍याली आयोजना गरिने निर्णय भएको प्रजिअ यादवले जानकारी दिए ।   

असोज ४ गते मूर्ति सेलाउने क्रममा दुई पक्षबीच झडप भएको थियो । झडपले उग्ररूप लिएपछि प्रशासनले सोही राति १० बजेबाट अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो । 

स्थितिमा सुधार आएपछि प्रशासनले असोज ८ गते कर्फ्युको समय घटाएर राति ८ देखि बिहान ४ बजेसम्म तोकेको थियो ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  २१:१५
Weather Update