काठमाडौं— अभिनेता अनमोल केसीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
न्यायाधीश कृष्ण प्रसाद सुवेदीले अनमोललाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् । आपराधिक विश्वासघात गरेको कसुरमा अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रबार पक्राउ गरेको थियो । पक्राउ गरेको दिनबाट आइतबार सम्म मात्र थुनामा राख्न अदालतले अनुमति दिएको हो ।
अनमोललाई पुनः सोमबार अदालतमा उपस्थित गराउनुपर्छ । पक्राउपछि उनलाई महाराजगन्जस्थित चिरायु अस्पतालमा भर्ना गरिएको छ । रावायण फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेपछि निर्माण युनिटले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएका थिए ।
अनमोलले ‘आपराधिक विश्वासघात’ गरेका कारण करिब डेढ करोड लगानी डुबेको निर्माण युनिटको दाबी छ ।