
काठमाडौं— नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले प्रदेशहरू कामकाजी हुन नसकेको बताएका छन् । जे सोचेर प्रदेशहरू निर्माण गरिएको हो त्यसअनुसार काम हुन नसकेको उनको भनाइ छ ।
काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा उनले भने, ‘प्रदेशहरू एकदमै महँगो भइरहेका छन् । प्रदेशहरू जे सोचेर बनाएका थियौं, त्यो अनुसार काम भएको छैन ।’
तत्कालीन सभापति सभापति गिरिजाप्रसाद कोइराला भएका बेला पार्टीले बोलाएको पाँच दलको बैठकबाट नेपालमा अब एउटामात्रै केन्द्र राखेर हुँदैन, प्रदेश बनाउनुपर्छ र प्रदेशलाई अधिकार दिनुपर्छ भनेर २०६१ सालमै सहमति भएको थापाले स्मरण गरे ।
‘अहिले हामीले त्यहीअनुसार प्रदेश बनाएका हौं । तर जे सोचेर बनाएका थियौं, त्यो अनुसार काम भएको छ छैन,’ उनले भने ।
कर्मचारी, प्रहरी जस्ता धेरै विषयमा कानुन बन्न नसकेको उनले बताए । प्रदेश मात्रै भनिएको तर अधिकार नभएको थापाको भनाइ छ । ‘प्रदेशको मुख्यमन्त्री भन्दा त सीडीओ कति अधिकारसम्पन्न छ । शक्तिशाली छ’ थापाले भने, ‘प्रदेशलाई पंगु बनाएर राखिएको छ ।’
महामन्त्री थापाले अगाडि भने, ‘लुम्बिनी प्रदेशको मुख्यमन्त्री आउन भएको छ रे, म खोज्दैछु, मुख्यमन्त्रीले सरकार टिकाउनका लागि माओवादीले धेरै दबाब दियो त्यसकारणले प्रदेशमा मन्त्रालय फुटाएर भए पनि थप्नुपर्यो भन्ने कुरा रहेछ । केन्द्रीय समितिको बैठकबाट अस्तिमात्रै निर्णय गरेको होइन हामीले एउटा पनि संरचना थप्न पाइँदैन भनेर ?’