News Griha :: न्यूजगृह
सरकारको नेतृत्व कांग्रेसले नै गरेको छः पूर्वमन्त्री बडू

काठमाडौं— नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दिलेन्द्र बडूले प्राविधिक रूपले प्रचण्ड प्रधानमन्त्री भए पनि सरकारको नेतृत्व काङ्ग्रेसले नै गरेको तर्क गरेका छन् ।

काठमाडौंमा आइतबार एक विचार गोष्ठीमा उनले अहिले पनि देशमा जनताले आशा गरेको पार्टी काङ्ग्रेस मात्रै भएको दाबी गर्दै सरकारमा सबैभन्दा ठूलो हिस्सा कांग्रेसको रहेको बताए । 

‘पछिल्लो सरकारको नेतृत्व पनि काङ्ग्रेसले गरेको थियो । अहिलेको सरकार पनि प्राविधिक रूपले प्रचण्डजी प्रधानमन्त्री हुनुहोला तर नेतृत्व हाम्रो छ । हाम्रो सबैभन्दा ठूलो हिस्सा यो सरकारमा छ,’ उनले भने, ‘तर पनि हामी के गर्दै छौ, हामीलाई जनताले हेरिरहेको छ । तर हामीले कामले देखाउन सकेनौ भने हाम्रो भाषणमा विश्वास गर्ने क्रम सकिदै छ । अहिले पनि यो देशमा जनताले आशा गरेको छ भने फेरि कांग्रेसबाटै हो । कांग्रेसले मात्रै हो यो मुलुकको एउटा समाधान दिन सक्ने, अहिलेको निराशाको अवस्थामा पनि ।’

पार्टी विधान अनुसार नभई मनमौजी केही नेतृत्वको खटनपटनमा चलेको भन्दै उनले आगामी वर्षमा पार्टी विधान अनुसार चलाउने प्रक्रियामा अगाडि बढेको बताए । 

उनले भने, ‘कमी भनेको केन्द्रीय समितिमा नै रहेको छ, केन्द्रीय समिति र सभापतिले गरिसक्नु पर्ने कार्ययोजना अनुसार काम भएको छैन् त्यसकारण समग्रमा सुधारका लागि पनि यो रूपान्तरण हो भन्ने मलाई लाग्छ ।’ रूपान्तरण कार्य गर्ने सबैभन्दा सक्षम टोली बनाउन लागौं, त्यसपछि मात्रै संकल्प लाई पूर्णतामा पुर्‍याउने चरणमा पुग्ने पनि उनको भनाई छ ।  

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १७:५८
Weather Update