
काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षकलाई राजनीतिबाट अलग राख्नैपर्ने अवस्था रहेको बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा विद्यालय शिक्षा विधेयक २०८० का विषयमा सांसद प्रेम सुवालको विरोधको सूचनामाथि प्रष्ट पार्दै मन्त्री राईले शिक्षकलाई राजनीतिबाट अलग राख्नैपर्ने अवस्था रहेको बताए । साथै मन्त्री राईले त्यो विषयलाई प्रस्तावित विधेयकमा समेटिएको बताए ।
उनले भने, ‘शिक्षकलाई राजनीतिबाट टाढा राख्नैपर्छ, मान्छेको आस्था आफ्नो ठाउँमा हुनसक्छ । तर त्यो आस्थाका कारण पठनपाठनलाई प्रभावित पार्नुहुँदैन । विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न मिल्दैन । शिक्षकले कुनै पार्टीको सदस्यता लिएर कसैकालागि भोट माग्ने र कसैको विरोध गर्ने गर्नुहुदैन भनेर ती विषयहरू विधेयकमा समेटिएको छ ।’
उनले सरकारले विधेयकमार्फत शिक्षकको ट्रेड युनियनको अधिकार भने सुनिश्चित गरेको बताए ।