
काठमाडौं— नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको विदेश भ्रमण सफल भएको निष्कर्ष निकालेको छ । सो पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा समग्रमा हेर्दा प्रधानमन्त्रीको भ्रमण सफल भएको बताएका हुन् ।
अहिले विश्व परिस्थिति र क्षेत्रिय परिस्थितिको जटिलताको प्रभाव पर्न नदिने कुरामा चीन र नेपालकाबीच सहमति भएको भन्दै उनले प्रधानमन्त्रीको भ्रमण सफल भएको जिकिर गरे ।
उनले भने,‘चीन भ्रमणले नेपाल चीन सम्बन्धमा नयाँ आयाम थपिएको छ । अहिले विश्व परिस्थिति र क्षेत्रिय परिस्थितिको जटिलता पेचिलोपनको यो अवस्थामा दुई देशका नेताहरु यसको प्रभाव पर्न नदिने कुरामा सहमत हुनुभएको छ । र, पहिला नै राखेका कुराहरुमा पुनः प्रतिबद्धता पनि व्यक्त गरिएको छ । त्यस अर्थमा यो भ्रमण सफल भएको छ । समग्रमा हेर्दा यो भ्रमणले नेपालको पछिल्लो गतिविधिहरु नेपालले गर्दै गरेको कामहरुको बारेमा जानकारी गराउँदै यो भ्रमण सफल भएको देखिन्छ ।’
उनले भ्रमणमा चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको राष्ट्रिय योजना आयोगकाबीचमा सम्झौता हुनु देश विकासमा नयाँ आयामको सुरुवात हुनु भएको बताए ।