News Griha :: न्यूजगृह
राष्ट्रसंघ र चीन भ्रमण फलदायी भएको प्रधानमन्त्रीको दाबी

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन र संयुक्त राष्ट्र संघको भ्रमण फलदायी भएको बताएका छन् ।

आइतबार संसद् बैठकलाई आफ्नो भ्रमणबारे जानकारी गराउँदै उनले दुवैतर्फको आफ्नो भ्रमण सफल भएको दाबी गरे ।

संयुक्त राष्ट्र संघको महासभामा आफूले देखिने गरी र सुनिने गरी नेपालकोतर्फबाट आवाज उठाएको उनको भनाइ छ ।

‘संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्रीस्तरमा भएको सहभागिताबाट नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायको सद्भाव हासिल गर्ने, नेपालमा द्वन्द्वबाट शान्तितर्फ रुपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दीगो विकासका लक्ष्यहरूको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावहरूबारे नेपाल लगायत अति कम विकसित मुलुकहरूका चुनौती र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने विषयमा नेपाल यसपटक देखिने गरी प्रस्तुत गर्न सफलता मिलेको छ,’ उनले भने ।

त्यस्तै उनले चीन भ्रमणका क्रममा आफूले एक चीन नीतिप्रति प्रतिबद्धता दोहोर्‍याएको बताए । दाहालले चीनसँग कृषि, सडक र बिजुलीसहित कयौँ विकासका काममा मिलेर अघि बढ्न समझदारी भएको पनि बताएका  छन् ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १५:१३
Weather Update