News Griha :: न्यूजगृह
उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन गरिने

काठमाडौं— सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भएको छलफलपछि उक्त निर्णय गरिएको छलफलमा सहभागी एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।

‘मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा आजै तीन सदस्यीय छानबिन आयोग गठन गर्ने र उक्त निर्णय आजै बस्ने प्रतिनिधि सभाको बैठकमा जानकारी गराउने सहमति भएको छ’, सचेतक बर्तौलाले भने ।

सुन तस्करी प्रकरणका सम्बन्धमा एमालेलगायतका दलले उच्चस्तरीय छानबिन आयोगको माग गर्दै आएकोमा गत भदौ ६ गते सरकार र राजनीतिक दलबीच असोज ५ सम्म उच्चस्तरीय छानबिन आयोग गठन गर्ने र सोही दिनदेखि आयोगले काम गर्ने सहमति भएको थियो । आयोगलाई छानबिनका लागि तीन महिनाको समय दिइनेछ ।

प्रधानमन्त्री दाहालले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ । सो अवसरमा प्रधानमन्त्री दाहालले आयोग गठनको निर्णयबारे सदनलाई जानकारी गराउनेछन् ।

यसअघि आज विहान प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो । उक्त छलफलपछि प्रधानमन्त्री दाहालले सत्तारुढ दलसँग पनि सो विषयमा छलफल गरेका थिए ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १३:१२
Weather Update